३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सरकारले उत्कृष्ट गन्तब्य घोषणा गरेको सन्दकपुरमा पर्यटकको भीड


0
Shares

प्रकाश नेपाल/ईमेज

इलाम । इलामको सन्दकपुरमा हिमशृंखलाको दृश्यावलोकन गर्न आउने पर्यटकको चाप बढ्न थालेको छ ।

सरकारले घोषणा गरेका सय उत्कृष्ट ठाउँमा पर्न सफल भएको यस स्थानमा मौसम खुलेसँगै सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यावलोकनका लागि आउने पर्यटक बढेका हुन् । पर्यटकीय हिसावले उत्कृष्ट मानिने इलामको सन्दकपुरमा पर्यटकको भीड हुन थालेको छ ।

समुद्र सतहबाट तीन हजार ६ सय ३६ मिटर उचाइमा रहेको नेपालकै महाभारत पर्वतको सर्वोच्च शिखरमा पर्ने सन्दकपुरबाट तीन देशका हिमशृङ्खलाको दृश्याअवलोकन गर्न आउनेको भीड लाग्न थालेको हो ।

क्षितिजबाट उदाउने सूर्य, ताँती लागेर उभिएका हिमालहरुमा घामको झुल्को पर्दा देखिने सुनौलो आकृति र सफा निलो आकाश देख्दा आनन्दको अनुभुति हुने स्थानीय दिनेश ढकालको भनाइ छ ।

यहाँ विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पशुपक्षी पाइन्छन् ।

सन्दकपुरले सूर्योदय, सूर्यास्त तथा प्रकृतिको अनुपम छटाहरुको दृश्यावलोकनका लागि पछिल्लो समय विश्वभर प्रसिद्धि कमाउँदै गएको छ ।

यहाँबाट अत्यन्तै मनमोहक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजंघा, मकालु, कुम्भकर्णलगायतका हिमालहरु आँखाभरी हेर्न सकिन्छ ।

नेपालका हिमाल, पहाड, तराइका कैयौँ जिल्लाहरु आफ्नै वरिपरी भएको भान हुन्छ ।

सूर्योदय र सूर्यास्तको अनौठो दृश्य, रातको समयमा खुला आकाशका तारापुञ्ज, झिलिमिली शहरलगायतका मनमोहक दृश्यले तानेर यस ठाउँमा पटकपटक आइपुगेको पर्यटकहरु बताउँछन् ।

नेपाल भारतको सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् ।

मानेभञ्ज्याङदेखि ३१ किलो मिटरमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा समेत पर्यटक रोकिने गर्छन ।

नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको संख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै सन्दकपुर गाउँपालिकाको मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माईपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ ।