Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


नेपाल–कुवेत फुटबल दशरथ रंगशालामा नहुने, भुटानमा प्रस्ताव


0
Shares

काठमाडौं, कात्तिक २१ । नेपाल र कुवेतबीच दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटको फुटबल खेल स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसितको खेल दशरथ रंगशालामा नहुने जनाएको हो ।

‘मापदन्ड पुगेन’

एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि फिफा र एएफसीले रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको हो ।

एन्फा प्रवक्ता किरण राईले पूर्वाधारको मापदन्ड नपुगेको भन्दै खेल सार्न निर्देशन आएको बताए ।

उनले फिफा र एएफसीको निर्देशनअनुसार तटस्थस्थल भुटानको रंगशालाका लागि प्रस्ताव गरिएको पनि जानकारी दिए ।

विश्वकप छनोटको सो खेल आउँदो मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो ।

मैदानकै अभावमा नेपालले विश्वकप छनोटका ‘अवे’ खेलहरु खेलिसकेको छ भने ‘होम’ खेल रंगशालामा खेल्नुपर्नेमा भुटान जानुपर्ने भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही कात्तिक १५ गतेभित्रै आसन्न दक्षिण एसियाली खेलकुद (साग)को पूर्वाधार पूरा हुने दाबी गरिरहँदा मुख्य स्थल दशरथ रंगशाला पुनःनिर्माणमासमेत ढिलाइ भएको हो । साग भने मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुँदैछ ।