६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


बुवाको हत्या आरोपी थुनामा


0
Shares

सप्तरी, कात्तिक २१ । सप्तरीको महादेवा गाउँपालिका–१, पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुवाको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो ।

नइममाथि उनका बुवा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ ।

हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ ।

मृतकका भाइ मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपीविरुद्ध गत असोज २० गते उजुरी दिएका थिए ।

मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो ।

छिमेकी फुल मोहम्मदकाअनुसार दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुवासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए ।

कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

आरोपी नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुवा अचानक लडेर मृत्यु भएको बताएका थिए । रासस