
रौतहट, कात्तिक २१ । हत्या अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको बयान जिल्ला अदालत रौतहटमा सकिएको छ ।
बुधबार कर्तव्य ज्यान मुद्दामा बयान सकिएकामा बिहीबार ज्यानमार्ने उद्योग र बम विस्फोटको मुद्दामा बयान सकिएको हो ।
रौतहट जिल्ला अदालतले तीन दिन लगाएर आलमसँग बयान लिएको हो । बयानकाक्रममा उनीसित ५१ ओटा प्रश्न सोधिएको बताइएको छ ।
अब आलमको थुनछेक बहस हुनेछ ।
जिल्ला अदालत रौतहटमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् ।
मिसिलमा प्रश्नहरु धेरै भएकाले बयानका लागि समय बढी लागेको अदालतले जनाएको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले आलमको बयान लिएको हो ।
आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन गरी तीनओटा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।
प्रतिक्रिया दिनुहोस्