Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


असामलाई हराउँदै आर्मी अन्तिम चारमा


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, कात्तिक २० । भारतको मोलवे एफसी असामलाई हराउँदै त्रिभुवन आर्मी क्लब झापामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा असामलाई २–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीलाई जिताउन टेकबहादुर बुढाथोकी र दीपक गुरुङले एक/एक गोल गरे ।

टेकबहादुरले खेल सुरु भएको छैटौं मिनेटमै गोल गरेर आर्मीलाई अग्रता दिलाएका थिए ।

आर्मीले ७४औं मिनेटमा पाएको ‘फ्रिकिक’मा दीपकको प्रहार गोलमा परिणत भएको थियो । दीपकको सोझै प्रहार विपक्षी गोलरक्षकको हातमा परेपनि बल फुत्किएर जाली चुमेको थियो ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका टेकबहादुर घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार चर्च ब्वाइज एफसी काठमाडौं र गोर्खा ब्वाइज एफसी बुटबलबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।

नेपाल र भारतका गरी १० टिम सहभागी गोल्डकप जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।