
सुनसरी, कात्तिक २० । धरानमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१४ का पशुपति चौधरी, सोवित भुजेल, विकास राई, मनोज राई, सुशील विश्वकर्मा, शम्भु चौधरी, अर्जुन तामाङ, रविन बर्देवा, सन्दीप मगर र विकास राई छन् ।
धरान–१४ स्थित मन्डपचोकमा रहेको पशुपति चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
चौधरीको घरमा दैनिक ठूलो संख्यामा जुवा खेलाइने गरेको सूचना पाएलगत्तै प्रहरीले उनीहरुलाई जुवा खेलिरहेकै अवस्थामा पक्राउ गरेको धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
उनीहरुको साथबाट ८४ हजार १०० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत् मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्