
काठमाडौं, कात्तिक २० । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुविरुद्ध बुधबार पनि विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
चितवन मेडिकल कलेजबाट आन्दोलन सुरु गरेका विद्यार्थीहरुले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । मंगलबार पनि उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए ।
बुधबार ‘बढी लिएको शुल्क फिर्ता गर’, ‘माफियातन्त्र अन्त्य गर’, ‘विद्यार्थी कुट्न पाइँदैन’, ‘काठमाडौंवासी न्याय दे’लगायतका नारा लगाउँदै उनीहरुले माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म र्याली निकालेका थिए ।
नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गन्डकी मेडिकल कलेज पोखरा र चितवन मेडिकल कलेजका विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् ।
आन्दोलनका संयोजक प्रकाश चन्दले मेडिकल कलेजहरुले शुल्क फिर्ता र समायोजन गर्ने प्रतिबद्धता पूरा नगरेकाले आन्दोलन जारी रहने बताए ।
आन्दोलनकाक्रममा नेसनल मेडिकल कलेज वीरगन्जका विद्यार्थीमाथि कुटपिटसमेत भएकाले कलेजका एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरु पनि सुरक्षाको माग गर्दै काठमाडौं आएका छन् ।
प्रतिक्रिया दिनुहोस्