
-ध्रुवसागर शर्मा/ईमेज
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले नेपालमा नै पहिलो पटक मानव मूत्रबाट आम्दानी गर्ने अभियान चलाएको छ ।
कृषि उत्पादन बढाउन पिसाव संकलन गरी प्रयोग गर्ने गरी गाउँपालिकाले सो अभियान चलाएको हो ।
त्यत्तिकै खेर जाने मानवमुत्रको प्रयोग गरी म्याग्दीको मंगला गाउँपालिकाले कृषि उत्पादन बढाउने उद्देश्यसहितको अभियान चलाएको छ ।
उक्त अभियान सफल गराउन गाउँपालिकाअन्तर्गतका विद्यालय, सार्वजनिक स्थान र घरका शौचालयमा राख्नका लागि जर्किन वितरण गरिएको र त्यसमै पिसाव संकलन गर्न लगाइएको हो ।
यसअघि गाईभैंसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले पछिल्लो समय यसलाई समेत प्रयोग गर्न लागेका हुन् ।
गाउँपालिकाको–५ स्थित अर्मनको शिशु कल्याण माविमा विगत दुई वर्षदेखि जर्किनमा पिसाव गर्न लगाई त्यसलाई बिक्री गर्दै आइएको थियो ।
मानवमूत्र विशेषगरी सुन्तलाखेती र मकै बालीका लागि अत्यन्त उपयोगी हुने शिशु कल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक चित्रबहादुर बुढाथोकी बताउँछन् ।
गाउँघरमा पनि पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको हो ।
पिसावलाई खेतीबारीमा प्रयोग गर्ने तरिका थाहा पाएपछि शौचालयमा राखिएका जर्किनमा पिसाव गर्ने गरिएको विद्यार्थी छवि सुवेदीको भनाइ छ ।
प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको मंगला गाउँपालिकाले विद्यालय र सार्वजनिक स्थानमा मानवमुत्र संकलनका लागि जर्किनको व्यवस्था गरेका छ ।
शौचालयको साटो स्थानीय र बटुवाहरुले समेत जर्किनमै मुत्र विसर्जन गर्ने गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका बताउँछन् ।
उत्पादन बढी हुनुका साथै रोग किराको प्रकोप पनि न्यून हुने भएकाले यो तरिका अन्यत्र पनि लागु गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्