झापा, कात्तिक १९ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार झापाको बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा एपीएफलाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित् समयको खेलमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा निर्णायक बनेको खेलमा पुलिसले बाजी मारेको हो ।
पुलिसका भोला सिलवाल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
पुलिसले पहिलो खेलमा झापा–११ एफसीलाई पराजित गरेको थियो । एपीएफले ‘बाइ’ पाएर सोझै क्वार्टरफाइनल खेलेको हो ।
प्रतियोगिताअन्तर्गत् बुधबार त्रिभुवन आर्मी क्लब र भारत, असामको मोलवे एफसीबीच खेल हुनेछ ।





प्रतिक्रिया दिनुहोस्