काठमाडौं, कात्तिक १८ । नेपालका बक्सिङ खेलाडीहरुको सहयोगका लागि अक्षयकोष स्थापना गरिएको छ ।
नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ, पूर्वमहासचिव दीपक गुरुङलगायतले बक्सिङ परिवारको नाममा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अक्षयकोष घोषणा गरेका हुन् ।
बक्सिङ खेलाडीहरुलाई आवश्यक पर्दा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको श्रेष्ठले बताए ।
बेलायतमा बसेर नेपाली खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सिद्धान्तविक्रम भण्डारी क्षेत्रीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अक्षयकोष घोषणा गरिएको हो ।
कोषका लागि श्रेष्ठ, गुरुङ र सम्मानित खेलाडी सिद्धान्तले जनही एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
एक वर्षभित्र कोषमा ५० लाख जम्मा गर्ने लक्ष्य राखिएको छ ।





प्रतिक्रिया दिनुहोस्