काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २ सय ३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय २ रन बनायो ।
एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।
यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४/४ विकेट लिए ।
एमसीसीविरुद्ध नेपाल नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको हो । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली टिमको नेतृत्व गरेका हुन् ।
एमसीसीविरुद्ध नेपालका निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने टिममा राखिएको छैन ।
यसअघि आइतबार एमसीसीले नेपाली यू(१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् ।
नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्