काठमाडौं, कात्तिक १७ । नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले पहिलो खेलमा नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिममाथि जित हासिल गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल ३८ रनले पराजित भएको हो ।
खेलमा ३३५ रनको फराकिलो चुनौती पछ्याएको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनायो ।
विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले ५२ तथा कप्तान रित गौतमले ४५ रन बनाए । त्यस्तै, अरुण ऐरी र आकाश चन्दले समान ३०/३० रनको योगदान गरे ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।
विल रोड्सले ९३ रन बनाएको इनिङ्समा मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५/६५ रन जोडे ।
नेपालका लागि सागर ढकाल र शेर मल्लले समान २/२ तथा कुशल मल्ल र आकाश चन्दले समान १/१ विकेट लिए ।
एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । यही खेलबाटै नेपाली टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो नयाँ इनिङस्को सुरुआत गर्दैछन् ।
एमसीसीले एकदिवसीयपछि नेपालसँग एउटा ट्वेन्टी–२० र तीनदिवसीय ‘फस्ट क्लास’ क्रिकेट खेल्नेछ ।
नेपाली क्रिकेट विकासका लागि तयार गरेको ‘लिगेसी टुर’अन्तर्गत् एमसीसी नेपाल आएको हो ।





प्रतिक्रिया दिनुहोस्