Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


‘प्रजातन्त्रले मात्र मातृभाषा पत्रकारिताको विकास हुँदैन’


0
Shares

काठमाडौं, जेठ १२ । मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् ।

छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा बुधबार आयोजित भर्चअल कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि राज्यले विशेष प्याकेज नै ल्याउनुपर्नेमा जोड दिए ।

छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको भर्चअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले देशमा धेरै पल्ट राजनीतिक परिवर्तन भएपनि मातृभाषा पत्रकारिता क्षेत्रमा कुनै परिवर्तन महसूस गर्न नसकिएको बताउनुभयो ।

‘मातृभाषा पत्रकारिता क्षेत्रको लक्षित समूह नै सानो हुन्छ, यसको बजार सानो हुन्छ, त्यसैले यो क्षेत्रमा व्यावसायिक पत्रकारिता निकै चुनौतीपूर्ण छ’, मानन्धरले भन्नुभयो, ‘मातृभाषा पत्रकारिताको विकासका लागि राज्यबाट नै विशेष सुविधाको प्याकेज ल्याइनुपर्छ ।

पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दुई वर्ष अघि मातृभाषा पत्रकारिता सम्मेलनबाट पत्रकारिता सम्वद्ध सरकारी निकायहरुमा समानुपातिक, समावेशी प्रतिनिधित्व, संचारगृहमा विषयवस्तुको साथमा व्यक्तिको समावेशी उपस्थिती, मातृभाषी पत्रकारको क्षमता विकास लगायतका विषयहरु समावेश गर्दै घोषणा पत्र जारी गरेको स्मरण गर्नुभयो ।

घोषणापत्रबाट उठाइएका मागहरु पूरा गराउन पत्रकार दबू लगायत मातृभाषा पत्रकारिता सम्वद्ध सम्पूर्ण संघसंस्था एकजुट भई राज्यलाई दबाब दिनुपर्ने बज्राचार्यको भनाई हो ।

‘मातृभाषा पत्रकारिताको विकासका लागि हामीले सुझावहरु राज्यसमक्ष राखेका छौं, यी मागहरुको कार्यान्वयन सम्वन्धमा राज्य कहाँ छ भन्ने प्रश्न राख्नुपर्ने अवस्था छ । यो प्रश्न बारम्बार दोहो¥याइ रहन नपरोस्, यहि आशा गरौं’ बज्राचार्यले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायण किलम्बुले मातृभाषा पत्रकारिता दिवस सरकारबाटै मनाइनुपर्ने माग राख्नुभयो ।

मातृभाषा नै देशको पहिचान बनेको अवस्थामा मातृभाषा पत्रकारिताको विकास पनि राज्यकै दायित्व भएको किलम्बुले भन्नुभयो ।

यसको लागि राज्यलाई दबाब दिन आफुले महासंघबाट सक्दो पहल गर्ने प्रतिवद्धता पनि किलम्बुले व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताले सय वर्ष पूरा गर्न लाग्दा पनि मातृभाषाबाट संचालन भइरहेका संचारमाध्यमले मौलिक विषयवस्तु पस्किन नसकेको विचार राख्नुभयो ।

‘हामीले अरुको सामग्री अनुवाद मात्रै गर्यौं, हामीले नै आफ्नो समुदायको सूचना, मुद्दालाई समाचारको विषय बनाउन सकेनौं भने अरुबाट आश गर्न सकिन्छ र रु’ गुरुङले प्रश्न राख्नुभयो ।

मातृभाषा पत्रकारिता भनेको समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षणसँग पनि जोडिएकोले यो निकै चुनौतीपूर्ण र गम्भीर विषय भएको गुरुङको भनाई थियो ।

त्यसैगरी मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले मातृभाषा पत्रकारितालाई अलगधार र खस नेपाली भाषाको पत्रकारितालाई मूलधार भन्दै विभेद भइरहेको गुनासो गर्नुभयो ।

सम्वन्धित समुदायको लागि मातृभाषा पत्रकारिता नै मूलधार भएको दावी गर्दै सिंहले मूलधार वा अलगधार खालको विभेदपूर्ण विचारलाई चिर्नुपर्ने विचार राख्नुभयो ।

पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २०७५ सालमा प्रथम मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको स्मरण गर्दै यस वर्ष दोश्रो सम्मेलनको आयोजना गर्ने योजना रहेपनि महामारीको अवस्थामा गर्न नसकिएको जानकारी दिनुभयो ।

समयानुकुल सम्मेलनको आयोजना गरिने पनि श्रेष्ठले बताउनुभयो ।

आजभन्दा ९६ वर्ष अघि नेपाल सम्वत १०४५ वि.सं. १९८२० मा ललितपुर चिकंबहिका धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले कलकत्ताबाट ‘बुद्ध धर्म’ नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए ।

यहि पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ । इतिहासकै पहिलो मातृभाषी पत्रिका ‘बुद्ध धम्र्म’ दोश्रो बर्षमा ‘बुद्ध धम्र्म व नेपालभाषा’ नामले प्रकाशित भएको थियो ।

राणाकालीन कठोर समयमा ५ बर्षसम्म यो पत्रिका प्रकाशन भएको थियो । यही पत्रिका प्रकाशनलाई आत्मसात् गर्दै धर्मादित्य धर्माचार्यको जन्मदिन बैशाख शुक्ल चतुर्दशीको दिनमा पत्रकार दबूले प्रथम मातृभाषा पत्रकार धर्माचार्यको जन्मजयन्ती तथा मातृभाषा पत्रकारिता दिवसको मनाउने गरेको छ ।

यसै क्रममा मंगलवार छैठौं मातृभाषा पत्रकारिता दिवस मनाइएको हो । दिवसको अवसरमा दबूले पुल्चोकस्थित धर्मादित्यको सालिकमा माल्यार्पण, ¥याली, जन्म जयन्ती समारोह तथा मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्दै आएकोमा यस वर्ष भने कोरोना महामारीका कारण उक्त कार्यक्रमहरु स्थगित भएको छ ।

धर्मादित्य धर्माचार्यको जन्म ने.सं. १०२२ बछलाथ्व १४ (वैसाख शुक्ल चतुर्दशी) मा सप्तपुर महाविहार, चिकंबही, ललितपुरमा भएको थियो भने ने.सं. १०८३ मा उनको निधन भएको हो ।

Skip This