अर्घाखाँचीको धरम्पानीमा निर्माणाधीन विमानस्थलको काम तीव्र • Image Khabar Image Khabar


अर्घाखाँचीको धरम्पानीमा निर्माणाधीन विमानस्थलको काम तीव्र


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार ११:५१

अर्घाखाँचीको धरम्पानीमा निर्माणाधीन विमानस्थलको काम तीव्र

सागर महत (इमेज)

अर्घाखाँची, कात्तिक १५ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित धरम्पानीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलको कामले तीव्रता पाएको छ ।

पटक–पटक शिलान्यास भएपनि काममा प्रगति हुन नसकेको विमानस्थलको कामले गति लिन थालेपछि स्थानीयमा उत्साह पैदा भएको हो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, धरम्पानीको शिखरबार्नीमा निर्माणाधीन अर्घाभगवती विमानस्थलको कामले तेस्रोपटकको शिलान्यास पछिमात्र गति लिएको छ ।

विमानस्थल बनेपछि छिटो–छरितो यात्रा गर्न पाइएला भनेर बसेका जिल्लावासीलाई यसअघिको कामको शैलीले भने निराश बनाएको थियो ।

तर, अहिले भने निमार्णमा तीव्रता देखिएपछि विमानस्थल बन्नेमा आशा जागेको स्थानीय हरिप्रसाद आचार्यको भनाइ छ ।

५०० मिटर लम्बाइ र ४० मिटर चौडाइको विमानस्थलको ‘रनवे’को काम पुष्पा जेभी कन्स्ट्रक्सनले पाँच करोड ६९ लाख रुपैयाँको लागतमा सुरु गरिएको छ ।

जिल्लामा कुनैपनि विमानस्थल नहुँदा सन्धिखर्कबाट भैरहवामा गएरमात्र हवाई यात्रा गर्नुपर्ने बाध्यता छ ।

आकस्मिक अवस्थामा कतै जानुपर्ने भएमा करिब तीन लाख रुपैयाँ खर्च गरी हेलिकोप्टर मगाउनपर्ने भएकाले समस्या पर्ने गरेको हो ।

विमानस्थल उत्कृष्ट ठाउँमा बन्न लागेकाले यसलाई दैनिक उडानमा ल्याउने प्रयास भइरहेको प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्