
काठमाडौं, साउन ११ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले आगामी तीन वर्षभित्रै मुलुकभित्र आधुनिक बजारको व्यवस्था गर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित किसान र उपभोक्ताको मानवअधिकारसम्बन्धी कार्यक्रममा मन्त्री खनालले स्वच्छ खान पाउने अधिकार उपभोक्ताको भएको भन्दै सबै उपभोक्तालाई स्वस्थ तरकारी उपलब्ध गराउन सरकारले तीन वर्षभित्र आधुनिक बजार स्थापना गर्ने बताए ।
कृषिलाई आधुनिकीकरण गर्न प्रशिक्षण र प्रविधिको विकास गर्नसकेमात्र कृषिमा व्यवसायीकरण हुनसक्ने उनको भनाइ थियो ।
मन्त्री खनालले अरुमाथि दोषारोपण गरेरमात्र नहुने भन्दै किसानलाई पनि आत्मविश्वासी बनाउनुपर्ने बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद मैनालीले उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेको, कृषिजन्य सामग्रीको बिमा हुन नसकेको, कृषकले लागत र परिश्रमबापतको मूल्य पाउन नसकेको गुनासो गरे ।
कार्यक्रमका सहभागीहरुले कृषकले लागत बराबरको मूल्य नपाएको र स्वस्थ तरकारी उपभोक्तासम्म पुग्न नसकेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्