
जनकपुर । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटनको विकासका लागि सरकार अहिले प्रदेश र स्थानीय तहसंग सहकार्य गरेर अगाडि बढिरहेको बताएका छन् ।
जनकपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले भ्रमण वर्षको सुरुवात मिथिलाको संस्कृति र सभ्यताको उद्गम थलोबाट गर्न लागेको जानकारी दिए ।
उनले पर्यटकहरुलाई लोभ्याउने विभिन्न स्थलहरुलाई थप व्यवस्थित बनाइने प्रतिवद्धता जनाए ।
मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणधिन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २३ महिनामा पूरा भएर सञ्चालनमा आउने दावी समेत गरे ।
त्यस्तै मन्त्री भट्टराईले मैथली महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकाले उनको शालिक नेपालको विभिन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए ।
सांस्कृतिक महत्वको छठ पर्व तथा नेपाल भ्रमण वर्ष २०२० का अवसरमा केन्द्र र प्रदेश २ सरकारको आयोजनामा कात्तिक १४ गते जनकपुरधाममा भ्रमण वर्ष प्रवद्र्धन तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
छठका अवसरमा सङ्घीय सरकार आयोजक भई पहिलो पटक प्रदेश नं २ को जनकपुरधाम र तिरहुतिया गाछीमा हुने उक्त कार्यक्रमबाट आपसी सद्भाव र हार्दिकता बढाई संस्कृति तथा पर्यटनको प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास गरिएको मन्त्री भट्टराइले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्