
-विवेक भण्डारी/ईमेज
नवलपुर । यतिबेला मुलुकका विभिन्न भागमा धान भित्राउने चटारो सुरु भइसकेको छ । किसानले वर्षभरीको दुख, परिश्रमलाई बाली स्याहार्ने बेलामा बिर्सिने गर्छन् ।
तर गरिमा जातको धान लगाएका नवलपुरका कृषकहरु भने लगानी पनि नउठ्ने भएपछि निरुत्साहित बनेका हुन् ।
बाली भित्राउने बेलामा अधिकांश किसानको मुहारमा उत्साहको भाव देखिन्छ । तर गरिमा जातको धानले नवलपुरका कतिपय कृषकलाई अहिले रुनु न हाँस्नु जस्तै बनाइदिएको छ ।
उनीहरु अहिले धान पसाउने र बाला लाग्ने दिन कुरिरहेका छन् । उत्पादन अझ राम्रो हुने भन्दै असारमा लगाइएको गरिमा जातको धान नफल्ने निश्चित भएपछि कृषक थप चिन्तित बनेका हुन् ।
नवलपुर जिल्लाका अधिकाँश क्षेत्रमा यहीँ जातको धान लगाइएको छ तर धानको बोट हेर्दा किसानहरुलाई उदेक लाग्न थालेको हो ।
नवलपुरको देवचुली, गैँडाकोट र कावासोती क्षेत्रका कृषकहरु ४ महिना वितिसक्दा पनि धानमा बाला समस्यामा परेका हुन् ।
उनीरुले राज्यले उचित क्षतिपूर्ती दिनुपर्ने माग गरेको भए पनि राज्यले गुनासो नसुनेका कृषकको गुनासो छ ।
कृषि ज्ञान केन्द्र तनहँुका कृषि फसल अधिकृत मोहन श्रेष्ठकाअनुसार गरिमा जातको धानमा बाला नलागेको कारण अब धान उत्पादन हुने संभावना देखिँदैन । आवश्यकताअनुसार पानीको बहाव नहुँदा गरिमा धानउत्पादन हुन नसकेको उनको भनाइ छ ।
जिल्लामा कुल ४६ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा १ सय २७ हेक्टर क्षेत्रमा गरिमा धान लगाइएको कृषि ज्ञान केन्द्र इकाइ कावासोतीले जनाएको छ ।
जिल्लाको १ सय २७ हेक्टर क्षेत्रमा लगाइएको गरिमा धानको अवस्थाबारेको तथ्यांक केन्द्रमा पठाइएकाले अनुदान दिने नदिने कुरा केन्द्रमै भर पर्ने ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत मिरा चौधरीको भनाइ छ ।
धान उत्पादनमा देखिएको समस्यालाई राज्यले मनन गर्दै आफूहरुलाई राहत प्रदान गर्नुपर्ने कृषकहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्