१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ढाकाका कपडाको व्यापार बढ्यो, वार्षिक २० करोड रुपैयाँको कारोबार


0
Shares

-सीता पाण्डे/ईमेज

पाल्पा । तिहारका बेला पाल्पामा ढाकाका कपडाको व्यापार निकै बढेको छ ।

भाइटीकाका दिन दिदीभाइले ढाकाबाट बुनेका कपडा आपसमा उपहार दिने भएकाले व्यापार निकै बढेको हो ।

योसँगै ढाका उद्योगीलाई भ्याइनभ्याई भएको छ । पाल्पाका विभिन्न ढाका उद्योगमा करिब एक हजारले रोजगारी पाउँदै आएका छन् ।

ढाकाटोपी भन्ने बित्तिकै धेरैले पाल्पाली ढाकाटोपीलाई सम्झिन्छन् । पाल्पाली ढाकाटोपीको कारोबार अन्य समयको तुलनामा तिहारमा बढी हुने गर्दछ ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली फूलको माला र ढाकाटोपी लगाइदिने चलन छ । त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई पछ्यौरा, सल, व्यागजस्ता सामान उपहार दिने गर्दछन् ।

यतिबेला पाल्पामा ढाकाका कालिगढलाई तिहारकै सरसमान निर्माण गर्न भ्याई नभ्याई भएको व्यवसायी शितम भण्डारी बताउँछन् ।

तिहारसँगै चिसो मौसम सुरु भएकाले पनि दिदी बहिनीले दाजुभाईलाई चिसोेबाट बच्न ढाकाका कपडा दिने चलन छ ।

अरु समयमा ढाकाटोपी नलगाउनेले भए पनि भाइटीकाका दिन लगाउने चलन बढ्दै गएको सरस्वती ढाका उद्योगका प्रोपाईट हरि रायमाझी बताउँछन् ।

मुलुकमा प्रत्येक वर्ष ढाकाको व्यापार बढ्दै गएको छ । दसैं तिहार आफूहरुको मुख्य सिजन भएकाले ९० प्रतिशत ढाकाको व्यापार यही बेला हुने गरेको व्यापारीहरु बताउँछन् ।

तिहारका बेला भने ढाका टोपीको व्यापार अत्यधिक हुने गरेको व्यापारीहरुको अनुभव छ ।

तानसेनमा मात्र १० वटा ठूला ढाका उद्योग छन् । अन्य जिल्लामा पनि ढाका उद्योग खुल्ने क्रम बढ्दै गएको छ ।

पाल्पाका ढाका उद्योगमा करिब १ हजारले रोजगारी पाएका छन् ।

एउटा पाल्पाली ढाका टोपीको मुल्य १ सय रुपैयाँदेखी ७ सय रुपैयाँसम्म पर्ने गरेको छ । यहाँ वार्षिक २० करोड रुपैयाँ बराबरको ढाकाको कारोबार हुने गरेको छ ।