
-केके मानन्धर/ईमेज
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित निगु पुखू क्षेत्रमा एकदिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पु¥याउने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना गरेको हो ।
दिवेश प्रधानको संयोजन तथा शंखधर एसोसिएसन अफ फाइन आर्टले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरभित्रका मूर्त र अमूर्त सम्पदा क्यानभासमा समेटिनु स्थानिय सरकारको लागि उपलब्धि भएको दाबी गरे ।
संघ सरकारको नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा यस्ता गतिविधिले पर्यटन प्रबद्र्धनमा सहयोग मिल्ने श्रेष्ठको भनाई थियो ।
‘मध्यपुर थिमि नगरपालिका सांस्कृतिक नगर भएकै आधारले यसका बहुआयामिक पक्षलाई प्रचार गरिनुपर्छ । त्यसैले यहाँ तयार गरिएका चित्रकला जापानमा पठाएको छु । तिहारपछि बेलायतमा पठाउने तयारी भइरहेको छ, ’ नगर प्रमुख श्रेष्ठले भने ।
कार्यक्रममा ७० वटा चित्रलाई पोखरी वरपर आकर्षण ढंगले प्रदर्शनीमा राखिएको थियो । प्रत्येक शनिबार नगरका विभिन्न ठाउँमा पुगेर कलाकारहरुले चित्रकलालाई तयार गरेका हुन् ।
सात हप्ता लगाएर बनाइएका चित्रकला मध्ये बोडेको महालक्ष्मी, नगदेशको लाछि टोल, सिद्धिकाली, निगु पुखू, चपाचो, लाय्कू, सिवाटोल, बालकुमारी प्रागंणका छन् ।
स्याटर डे प्लेन एअर अर्थात शनिवारीय चित्रकलाको कार्यशाला आयोजना गरी कलाकारहरु देशका विभिन्न ठाउँ पुगेर चित्र बनाइरहेका छन् ।
निश्चित समयमा तयार गरिएका चित्रकलालाई सम्बन्धित ठाउँमा प्रदर्शनी गर्ने कामलाई पनि अभियानको रुपमा थालेका छन् । सोही अभियान अन्तर्गत मध्यपुरको चित्रकलालाई ‘जीवन्त मध्यपुर’ नामांकरण गरिएको छ ।
यसअघि भक्तपुर, काठमाडौं, पाटन, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा सम्पन्न गरेका छन् । आगामी कात्तिक २२ र २३ गते रसुवाको बेत्रावती नगरपालिकामा हुँदैछ ।
कार्यक्रममा वरिष्ठ कलाकार गेहेन्द्र मान अमात्य, रोशन बज्राचार्य, जीवन्त सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापति, गणेशराम लाछी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्