
काठमाडौं, कात्तिक १० । यस वर्ष फूलको अभाव नहुने भएको छ ।
तिहारको समयमा वर्षेनि २५ लाखभन्दा बढी रुपैयाँको माला माग हुने गरेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको तथ्यांक छ ।
यसमध्ये सात लाख गोदावरी र मखमली फूल र १८ लाखको सयपत्री मालाको माग रहेको बताइएको छ ।
यसमध्ये मखमली र गोदावरी स्वदेशमै उत्पादन हुने गरेको छ भने सयपत्री आयात हुने गरेको संघले जनाएको छ ।
यस वर्ष अनुकूल मौसमका कारण फूलको उत्पादनमा वृद्धि भएसँगै फूलको अभाव नहुने भएको जनाइएको हो ।
यस वर्ष सातओटै प्रदेशमा राम्रो उत्पादन रहेको र रोग नलागेका कारण गुणस्तरीय फूल उत्पादन भएको संघका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए ।
विगतका तुलनामा यस वर्ष भने कम फूल आयात भएको श्रेष्ठको भनाइ छ ।
सीमित व्यक्तिको स्वार्थका कारण नियतबस फूल आयात हुँदा नेपाली व्यवसायीलाई असर पर्ने गरेको श्रेष्ठको आरोप छ ।
प्लास्टिकको फूलमा उपभोक्ताको आकर्षण बढ्दो
पछिल्लो समय मानिसहरुको आकर्षण प्लास्टिकबाट बनाइएको फूलमा देखिएको छ ।
प्लास्टिकको फूल सस्तो र लामो समयसम्म नबिग्रने हुँदा आकर्षण बढेको छ ।
तिहारको बेलामा मानिसहरुले घर सजाउनका लागि प्लास्टिकको फूलको प्रयोग गर्छन् ।
तिहारको बेलामा प्लास्टिकको फूलको व्यापार प्राकृतिक फूलको जस्तै सन्तोषजनक रहेको व्यापारीको भनाइ छ ।
उपभोक्ताको आकर्षण बढ्दै गएपछि नेपालमा वर्षेनि लाखौंको फूल आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्