
भक्तपुर, कात्तिक १० । तिहारमा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउने चटारो छ ।
पछिल्लो समय प्रजापतिको संख्या घटेसँगै उनीहरुलाई उपभोक्ताको माग पूरा गर्न भ्याइ–नभ्याइ छ ।
माटो र काम गर्ने मानिसको अभावकाबीच उत्पादित यस्ता सामानले उचित मूल्य भने पाउन नसकेको गुनासो उनीहरुको छ ।
विशेषगरी भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रमा प्रजापतिहरु व्यस्त देखिन्छन् ।
तिहारको समयमा पाला, धूपौरो, दही राख्ने ठेकीको माग बढेको व्यवसायी बताउँछन् ।
पालाको माग बढेपनि माटोको अभाव र काम गर्ने मान्छेहरु नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् ।
माटो सजिलै उपलब्ध हुने धेरै ठाउँहरुमा जग्गा ‘प्लटिङ’का कारण माटो अभाव हुँदै गएको गुनासो उनीहरुको छ ।
माटाको अभाव देखिएपनि यी सामानले उचित मूल्य पाउन नसकेको उनीहरु बताउँछन् ।
एउटा पालाको थोक डेढ रुपैयाँ र खुद्रा मूल्य दुई रुपैयाँ छ ।
भक्तपुर र थिमिमा उत्पादन भएका पाला भक्तपुर, काठमाडौं, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा खपत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्