१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फूलको मनपरी मूल्य


0
Shares

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

काठमाडौं, कात्तिक १० । तिहारलाई फूल र बत्तीको पर्व पनि मानिन्छ ।

यो पर्वमा घर–संघार सजाउन तथा दिदी–बहिनीले दाजु–भाइलाई लगाइदिन विभिन्न फूलहरुको प्रयोग गरिन्छ । गोदावारी, सयपत्री र मखमली फूल मुख्यरुपमा प्रयोग हुन्छन् ।

यतिबेला गाउँ–सहरमा फूलमाला बनाउने र किन्नेहरुको निकै भीडभाड देखिन्छ ।

तिहारका पाँच दिनमध्ये भाइटीकाको दिन प्रमुख दिन हो । जुन दिन दिदी–बहिनी र दाजु–भाइबीचको आत्मीयता साटासाट गर्ने गरिन्छ ।

दिदी–बहिनीले दाजु–भाइलाई सप्तरंगी टीका र सयपत्री, मखमली फूलको माला लगाएर दीर्घायुको कामना गर्ने प्रचलन छ । यो पर्वमा फूलको प्रयोग अनिवार्य नै मानिन्छ ।

संस्कृतिविद्हरुकाअनुसार १०० ओटा शरद ऋतु देख्न र बाँच्न पाऊन् भन्ने कामनाका साथ तिहारमा सयपत्री फूलको प्रयोग हुने गर्छ ।

तिहारमा काग, कुकुर, गाई, गोरु र धनधान्यकी देवी लक्ष्मीको पूजामासमेत गोदावरी, मखमली र सयपत्री फूलकै प्रयोग गर्ने चलन छ ।

तिहारमा फूलको खपत निकै हुने गर्छ । यमपञ्चक सुरु भएदेखि नै काठमाडौंका सडक–गल्लीमा सयपत्री, मखमली फूलको व्यापार फस्टाएको देख्न सकिन्छ ।

कालीमाटी, बल्खु, असन, जमल, बानेश्वर, न्यूरोड क्षेत्रमा मखमली र सयपत्री फूलको कारोबार निकै हुने गर्छ । फूल किनबेच गर्नेको भीड सडक र गल्लीमा निकै रहेको छ ।

बजारमा फूलमाला बेच्ने र किन्नेको भीड निकै हुने गरेपनि यसको मूल्यमा भने एकरुपता भेटिँदैन । भाउ मनपरी हुने गरेको उपभोक्ताको गुनासो छ ।

फूलको मूल्य बिहानको समयमा केही कम थियो भने दिउँसोको समयमा भने निकै उच्च रहेको छ ।

आइतबार बिहानको समयमा प्रतिमाला ५०० रुपैयाँमा किनबेच भएका फूल दिनमा एक हजारदेखि १५ सयसम्म लिने गरेको व्यापारीहरु नै बताउँछन् ।

अहिले एउटा मालाको झुप्पोको ५०० देखि दुई हजारसम्म रहेको छ ।

धेरैजसो फूल काठमाडौं आसपासका क्षेत्रबाट आउने गरेका छन् । तर, भारतीय फूलका कारण नेपाली फूलको मूल्य कम गर्नुपरेको र किनबेचमासमेत असर परेको व्यापारीहरुको गुनासो छ ।

हिजोआज विभिन्न सभा–समारोह र कार्यक्रममासमेत सयपत्रीलगायतका फूलको प्रयोग हुन थालेको देखिन्छ ।

तिहारको बेला भने घर, कार्यालय सजाउन मखमली र सयपत्री फूलको प्रयोग बढी हुने गर्छ ।

यस्ता फूलहरुको प्रयोगलेसमेत तिहार पर्वको महत्व र आकर्षण बढाउन विशेष भूमिका खेलेको मान्न सकिन्छ । तर, व्यापारीहरुले मनपरीरुपमा मूल्य तोकिदिँदा सर्वसाधारण भने मारमा पर्ने गरेका छन् ।

भिडियो हेर्नुहोस्