१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फूलमा आत्मनिर्भर बन्दै नेपाली, भारतको भर पर्नुपर्ने बाध्यता अन्त्य हुँदै


0
Shares

भैरहवा । फूलको पर्व तिहार नजिकिएसँगै अधिकांशको घर, आगन वरपर विभिन्न किसिमका फूलहरु ढकमक्क फूलेका छन् ।

हरेक वर्ष भारतबाट ठूलो परिमाणमा फूलको आयात गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै रुपन्देहीका विभिन्न समूहले व्यावसायिक रुपमै फूलको खेती गर्न थालेका हुन् । 

गाउँ तथा शहरका वस्तीहरुमा तिहारको उल्लास र रौनक संचारित हुन थालेको छ ।

फूलको अत्याधिक माग भए पनि स्वदेशी उत्पादनले धान्न नसक्ने भएकाले वर्षेनी करोडौँ रुपैयाँ बराबरको फूल आयात गर्नुपर्ने बाध्यता समेत छ ।

तर पछिल्लो समय तिहारमा अत्याधिक माग हुने सयपत्री, मखमली, सुपारीलगायतका फूलहरु उत्पादन गरेर भारतीय फूलको आयातलाई विस्थापित गर्ने अठोटका साथ रुपन्देहीका केही संस्था तथा समूहले पहलकदमी गरेका छन् ।

सयपत्री फूलको उत्पादन नेपालमै गर्न थालेपछि पहिल्लो समय यसको आयात कटौती हुँदै पनि गएको छ । रुपन्देहीको भैरहवा ९ मा पर्ने गोनहियामा सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको हो ।

नेपाल बहुमुखी सहकारी संस्थामार्फत् तीन बिघाभन्दा बढी जग्गामा तरकारी, फलफूल तथा सयपत्री फूलको व्यवासयिक खेती गरिएको संस्थाका सदस्य सुशील पौडेलको भनाइ छ ।

गोनहियालगायत जिल्लाका अन्य ठाउँमा पनि तिहारलक्षित सयपत्री तथा सुपारी फूलको खेती गरिएको छ । यसबाट  भारतको बनारस र कोलकत्ताबाट आउने फूललाई प्रतिस्थापन गर्न सहयोग पुगेको हो  ।

त्यस्तै तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुरमा पनि व्यावसायिक फूल खेती गरिएको छ । तिलोत्तमाका ८ जना महिलाहरुको सहभागितामा फूलको खेती गरेका हुन् । 

यसबाट फूलको आयातलाई रोक्न तथा प्रदेश नम्बर ५ सयपत्री फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने व्यवसायी देवी वाग्लेको विश्वास छ ।

यता भैरहवा भन्सार कार्यालयको तथ्यांकले पनि पछिल्लो समय फूलको आयात कम हुँदै गइरहेको देखाएको छ ।

तथ्यांकमा चालु आर्थिक बर्षको असोज मसान्त सम्ममा ८ लाख ६४ हजार रुपैयाँ बराबरको फूल आयात भएको छ ।