Logo ३ माघ २०८२, शनिबार | Sun Jan 18 2026


कोषको प्रष्टोक्तिः पशुपति धर्मशालामा तीनतारे होटल चलाउँदैनौं


0
Shares

काठमाडौँ, कात्तिक ८ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल चलाउने भनि आएको खबर साँचो नभएको दावी गरेको छ ।

नवनिर्मित धर्मशाला निजी सञ्चालकलाई दिई होटलका रुपमा चलाउन खोजिएको बारे खबर सार्वजनिक भएपछि विज्ञप्ति निकाली कोषका सदस्य सचिव डा. प्रदीप ढकालले यसबारे कोषको ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको भने स्वीकारेका छन् ।

‘सार्वजनिक खरीद ऐन तथा नियमावलीबमोजिम ठेक्का बन्दोबस्त गरी सार्वजनिक सूचना प्रकाशित गरेर खुला प्रतिष्पर्धाबाट सञ्चालनको जिम्मेवारी दिइएको हो, तीर्थयात्रीको प्रवृत्ति शौचालयसहितको कोठामा बस्नेतर्फ बढ्दै गएकाले १० जनाभन्दा बढी अट्नेलाई केही सुधार गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

धर्मशालामा २८८ कोठा रहेको भन्ने तथ्य सही नभएको जिकिर गर्दै कोषले धर्मशालामा ३ सय ९० यात्रु अटाउने जम्मा ८२ कोठा मात्र रहेको छ जनाएको छ । कोषले थोरै शुल्कमा धेरै सुविधा दिने गरी कोठाको पुनःसंरचना गरिएको दावी पनि गरेको छ ।

कोषको मूल उद्देश्य धर्मशालाबाट नाफा कमाउनु नरहेको भन्दै ढकालले सामूहिक शयन कक्ष भएको कोठामा बस्ने तीर्थयात्रीले ३५० रूपैयाँ भन्दा बढी तिर्नु नपर्ने पनि उल्लेख गरेका छन् । ठूला सवारी लिई समूहमा आउने तीर्थयात्रीलाई सामूहिकरुपमै बस्नसक्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।

भारत सरकारको सहयोगमा बनाइएको धर्मशाला गत वर्षको भदौ १५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशाला २२ करोड रूपैयाँमा निर्माण सम्पन्न गरी भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।