
-प्रकाश नेपाल/ईमेज
इलाम । दैनिक लाखौं रुपैयाँको कारोबार हुने इलामको पशुपतिनगर नाका तिहार नजिकिँदै गर्दा पनि सुनसान छ ।
भारतीय नाकामा २५ हजार रुपैयाँभन्दा बढी नगद बोक्न नपाउने भएपछि आवागमन घटेका कारण बजार सुनसान भएको हो ।
तिहारको चहलपहल सुरु भइसक्दा पनि इलामको पशुपतिनगर बजार अहिले सुनसान छ ।
अन्य समयको तुलनामा यस समयमा बढी चहलपहल देखिने भए पनि यो वर्ष भने सामान्य व्यापार पनि मुश्किलले मात्रै भएको व्यापारीहरुको भनाइ छ ।
विगतका वर्षहरुमा भीडले ठेलमठेल गर्दै बजार छिचोल्नुपर्नेमा अहिले भने दिनभरी पसल कुर्ने काम मात्रै भएको स्थानीय लगेज राई बताउँछन् ।
भारतीय नाकामा २५ हजार रुपैयाँभन्दा बढी नगद बोक्न नपाउने भएपछी यो नाकामा आवागमन ह्वात्तै घटेको छ । जसको प्रभाव व्यापार देखिएको छ
दैनिक ५० लाख बढीको कारोबार हुने यस व्यापारिक केन्द्रमा अहिले मुस्किलले एक लाखको कारोबार गर्न पनि धौधौ पर्ने भएपछि व्यापारीहरु पलायन हुन थालेका हुन् ।
विसं २०३६ सालमा स्थापना भएको यस बजारका ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण थिए ।
तर अहिले चीनबाट सामान सोझै भारतका विभिन्न शहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घटेको ब्यापारीहरुको भनाइ छ ।
भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोबार हुने बजारको केन्द्र रहेको पशुपतिनगर अहिले भने धराशायी बन्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस्