
काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाटै ठूला आयोजनाहरूको अनुगमन गरेका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अनुगमन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन् ।
यसैगरी प्रधानमन्त्रीले भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेको पनि अर्यालले जनाएका छन् । त्यसक्रममा विभागीय मन्त्रीहरूलाई पनि साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगती विवरण लिएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिँँदै प्रधानमन्त्री ओलीले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण पनि प्रस्तुत गरेको थियो ।
एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री बर्षमान पुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल थिए ।
प्रतिक्रिया दिनुहोस्