२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मानसिक अस्पताल एकमात्र छ, त्योपनि घिटिघिटी छ ! (भिडियोसहित)


156
Shares

प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज)

काठमाडौं, कात्तिक ५ । देशको एकमात्र मानसिक अस्पतालको अवस्था दिनानु–दिन खस्कँदै गएको छ ।

३६ वर्षअघि ललितपुरको लगनखेलमा स्थापना भएको अस्पतालमा सेवा–सुविधा र मनोचिकित्सको मात्रै होइन, शय्याकोसमेत अभाव रहेको छ ।

वीर अस्पतालका तत्कालीन निर्देशक एवं नेपालका पहिलो मनोचिकित्सक डा. विष्णुप्रसाद शर्माले स्थापना गरेको यस मानसिक अस्पताल नाजुक अवस्थाबाट गुज्रिएको छ ।

वीर अस्पतालमा खडा गरिएको मानसिक उपचार शाखालाई २०४० सालमा लगनखेल अस्पतालमा गाभेर मानसिक अस्पताल बनाइएको थियो ।

तर, सरकारी क्षेत्रको एकमात्र मानसिक रोग उपचार गर्ने अस्पताको अवस्थाप्रति सरकारलेसमेत चरम बेवास्ता गरेको छ ।

दैनिक झन्डै २०० बिरामी आउने यस अस्पतालमा जम्मा ५० शय्या रहेका छन् ।

३९ ओटा शय्याबाट सुरु गरिएको अस्पताललाई ३६ वर्ष बितिसक्दा पनि सरकारले बेवास्ता गर्दा अस्पतालको अवस्थामा सुधार आउन नसकेको हो ।

सातजना निर्देशक फेरिइसकेको अस्पतालको अवस्था भने सुधार हुन नसकेको अस्पतालका निर्देशक डा. मोहन श्रेष्ठले बताए ।

मुख्य समस्या नै बजेट अभाव भएको र अस्पताल अहिले बिरामीलाई औषधि दिने माध्यममात्रै बनेको भन्दै उनले ‘सरकारलाई पनि कति दोष दिनु ?’ भने ।

यस वर्ष सरकारले यो अस्पताललाई तीन करोड रुपैयाँ पठाएको छ । जसको ८० प्रतिशत तलबमै खर्च हुने गर्दछ ।

अस्पतालमा शय्या अभाव र सेवा–सुविधा विस्तार हुन नसक्दा कैयौं बिरामीलाई उपचार नगरी फर्काउनुपर्ने बाध्यता रहेको पीडासमेत डा. श्रेष्ठ व्यक्त गर्छन् ।

कतिसम्म भने बिरामीको रेकर्ड राख्ने ‘मेडिकल रेर्कडर’समेत अस्पतालसँग छैनन् भने अस्पतालमा प्रशासक पदसमेत खाली रहेको छ ।

मनोचिकित्सक अभावको उस्तै पीडा छ । १२ जना चिकित्सकले अस्पताल धानिरहेका छन् भने १० जनामात्र नर्स रहेका छन् ।

‘मनोचिकित्सकमात्र राखेर अस्पताल चलाउन खोजेपछि कसरी उपचार दिने ?’ भन्ने प्रश्न निर्देशक श्रेष्ठ गर्छन् ।

अस्पतालको सेवा–सुविधा बढाउन बनाइएको ‘मास्टर प्लान’को ढाँचासमेत सहरी विकास विभागमा अड्किएको छ ।

भिडियो हेर्नुहोस्