कन्चनपुर । कञ्चनपुरमा धानबाली भित्र्याउने चटारो भइरहेका बेला ‘गरिमा’ जातको धान लगाएका किसान भने धानमा बाला नलागेपछि चिन्तित बनेका छन् ।
सँगैको खेतमा लगाएको धान भित्र्याउने बेला भइसक्दा समेत गरिमा धानमा बाला नलागेपछि किसान चिन्तित बनेका हुन् ।
अघिल्लो वर्ष राम्रो उत्पादन भएपछि किसानले निजी एग्रोभेटबाट प्रतिकेजी साढे चार सयका दरले बीउ खरिद गरेर गरिमा धान लगाएका थिए ।
नेपाल सरकारले सूचीकृत गरेको उन्नत जातको धानबाट बढी उत्पादन हुने आशमा खेती गरेका यहाँका अधिकांश किसानहरु धानमा बाला नलाग्दा निरास भएका छन् ।
तोरी, आलु लगायत अन्य बाली लगाउने बेला भइसक्दा समेत धानमा बाला नलागेपछि किसानले हरियो धान काटेर गाईवस्तुलाई खुवाउन थालेका छन् ।
उनीहरुले यसवर्षको लगानी र मेहनत दुवै खेर गएको भन्दै गुनासो गरेका छन् । कञ्चनपुर र कैलालीमा ९ सय ६८ जना किसानले गरिमा जातको उन्नत धान लगाएका थिए ।
जसमध्ये ६ सय ५३ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाला नलागेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ ।
कार्यालयका अनुसार अन्य जिल्लामा ढिलो गरी बाला लागेको जानकारीमा आएपनि कञ्चनपुरमा भने बाला लाग्ने सम्भावना न्यून देखिएको छ ।
यसवर्ष कञ्चनपुरमा ४८ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्