७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


कोरोना संक्रमणदर यो साता १२७ प्रतिशतले वृद्धि


0
Shares

काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको संक्रमण गत हप्ताको तुलनामा यो साता ह्वात्तै बढेको छ ।

गत हप्ताभन्दा यो साता १२७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले जानकारी दिनुभएको छ ।

आजमात्रै परीक्षणको ४० दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ । डा. श्रेष्ठले परीक्षणको तीन प्रतिशतभन्दा कममा मात्र कोरोना देखिएमा संक्रमण कम हुँदै गएको मान्न सकिने बताउनुभयो ।

उहाँले अन्य देशको तुलनामा नेपालमा दू्रत गतिमा फैलिइरहेको भन्दै सबै प्रदेशमा गत हप्ताको तुलनामा सय भन्दा बढी प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।

लुम्बिनीमा सबैभन्दा बढी ३८४ प्रतिशतले वृद्धि भएको छ ।

डा. श्रेष्ठले अहिले देखिएका भन्दा कयौं गुणा संक्रमित समूदायमा परीक्षण नगरी बसिरहेको भन्दै कोरोनाको दर घटाउने हो भने जतिसक्यो बढी परीक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपालका धेरै जिल्लाहरुमा संक्रमण ब्यापक रुपमा फैलिइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका ५० जिल्लामा लकडाउन गरिएको बताउनुभयो ।

उहाँले सोमबारदेखि आजसम्म तीन दिनको अवधिमा २३ हजार ७१३ जना संक्रमित थपिँदा ५ हजार ७ सय ८९ जनामात्र संक्रमणमुक्त भएको बताउनुभयो ।