
दीपक घिमिरे/ईमेज
भैरहवा । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले तीब्र गतिमा अगाडि बढेको छ ।
सरकारले घोषणा गरेको भिजिट २०२० लाई लक्षित गरी विमानस्थल निर्माणलाई तीव्रता दिइएको हो ।
आगामी वर्षको वैशाखबाट नियमित रुपमा अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरण गर्ने गरी विमानस्थलको काम तीव्र बनाइएको आयोजनाले बताएको छ ।
सोहीअनुसार विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम धमाधम रुपमा अगाडि बढाइएको हो ।
विमानस्थलको प्रशासनिक भवनमा फिनिसिङ्गको काम धमाधम चलिरहेको छ ।
अर्कोतिर टर्मिनल भवनमा पनि मार्बल, टायल, सिसिटिभी, एक्स–रे मेसिन जडानलगायतका काम पनि सुरु भएका छन् ।
विमानस्थल संचालनका लागि आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै अहिले ८२ प्रतिशत काम सम्पन्न भएको विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीको भनाइ छ ।
उपकरण जडानको काम बाँकी रहेकाले उपकरण आइसकेपछि आगामी डिसेम्बरसम्म काम सम्पन्न हुने उनको अनुमान छ ।
सबै काम सकेर नेपाल भ्रमण वर्षको पहिलो त्रैमासिकसम्म विमानस्थल सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको अधिकारीले जनाए ।
२०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोडको लागतमा सन् २०१७ डिसेम्बरभित्रै काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
तर २०७२ सालको विनाशकारी भूकम्प, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीले काममा ढिलाइ भएको भन्दै २०१९ जुलाईसम्म समय थप गरिएको थियो ।
थपिएको समयमा पनि काम नसकिएपछि फेरि तेस्रोपटक समय थप गरी २०१९ को डिसेम्बरसम्म काम सक्नुपर्ने समयसीमा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्