
अनिल तिवारी
वीरगञ्ज । भारतसंग नेपालको प्रमुख व्यापारिक तथा प्रवेश नाका वीरगञ्ज पुनः कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । कोराना संक्रमण रोक्न समयमै सिमामा कडाइ नगरिएको कारण आर्थिक महानगरी वीरगन्जको अवस्था भयावह उन्मुख हुदै गएको छ । संक्रमितको संख्या बढ्दै गएका कारण स्वास्थ्य संस्थाहरूको अवस्था पनि दयनीय बन्दै गएको छ । आवश्यकता अनुसार पर्याप्त भेन्टिलेटर छैन ।
पर्सामा बढ्दो कोरोना संक्रमणको त्रास र मृत्युका घट्नाबीच पनि समस्यासंग जुध्न सहयोग र साथ जुटन थालेको छ । सरकारी निति लथालिग भएपनि सहयोगी हातहरु बढन थालेका छन् । निःशुल्क अक्सिजन, एम्बुलेन्स र शववाहनको ब्यवस्था जुट्दै गएको छ । गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्दै वीरगन्ज महानगरपालिकाले विभिन्न संक्रमतिहरुलाई सहयोग गर्न विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ । संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिकाले निःशुल्क अक्सिजन बैंक स्थापना गरेको नगरप्रमुख विजयकुमार सरावगीले बताउनु भयो ।
महानगरपालिकाले कोरोना संक्रमित भइ होम आइसोलेसनमा रहेका संक्रमितका लागि आवश्यक पर्ने औषधि किटसमेत निःशुल्क रुपमा वितरण गर्न थालेको छ । पारासिटामोल, भिटामिन सि, भिटामिन डि, एसिडिटी रोक्ने औषधि र एन्बिायोटिक जस्ता आठ प्रकारका औषधि महानगरले उपलब्ध गराएको छ । संक्रमितलाई औषधिको प्रयोग विधि र मात्रासमेत बताउने गरिएको छ र कोरोना संक्रमितलाई लक्षणअनुसार चलाइने सहयोगी औषधि प्रदान गरिएको महानगरका नगर प्रमुख सरावगीको भनाइ छ ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवको संसदीय क्षेत्र विकास कोष र वीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा निःशुल्क एम्बुलेन्स र शव वाहन बुधबारदेखि सञ्चालनमा ल्याइएको छ । एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद यादवले महामारीको समयमा निःशुल्क एम्बुलेन्स सेवाले थोरै भएपनि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
महानगरले वीरगंजमै अक्सिजन सुविधासहितको डेढ सय बेड क्षमतको आइसोलेसन वार्ड बनाउन योजना अघि बढाएको छ । मेयर सरावगीले महानगरसँग १५ बेडको अस्पताल सञ्चालन गर्न मात्र अधिकार रहेकोले केन्द्र सरकार र स्थानीय प्रशासनको अनुमतिमा डेढ सय बेडको अक्सिजनसहितको आइसोलेसन वार्डको तयारी अन्तिम चरणमा पुगेको छ । संकटको घडीमा महानगपालिकाले बढाएको सहयोगी हातले कारोना बिरुद्धको लडाईमा संक्रमितहरुलाई अवश्यनै ठुलो आशा जगाएको छ ।
प्रतिक्रिया दिनुहोस्