२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास


0
Shares

काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरेका छन् ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी–साधन आवत–जावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१, टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो ।

प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरे ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरु गरिएको सो सुरुङमार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ ।

त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।

प्रवेशमार्गसहित ५.५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार  विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताए ।

करिब रु ६ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि, जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सन्चालन हुनेगरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त सुरुङमार्गमा दुईओटा साना ‘फ्लाइओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए ।

सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेसनसँग सम्झौता भएको थियो ।

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेशमार्गसमेत निर्माण गरिने भएको छ ।

सोही परियोजनाअन्तर्गत् स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ । रासस