Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्यमा नेपालको कामको ‘युएनएफपीए’द्वारा प्रशंसा


0
Shares

काठमाडौं, कात्तिक ४ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्रसंघका उपमहासचिव  डा. नतालिया कनेमले मातृ तथा नवजात शिशु मृत्युदर, सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य, परिवार योजना तथा महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेका कामको प्रशंसा गरेकी छन् ।

नेपाल भ्रमणमा रहेकी कार्यकारी निर्देशक डा. कनेमले सोमबार संयुक्त राष्ट्रसंघीय कार्यालय ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा ती क्षेत्रमा नेपालले अवलम्बन गरेका नीति लागू गराउन सबै तहका सरकारको प्रतिबद्धता, युवा नेतृत्व र नागरिक समाजको सक्रियताबाट आफू धेरै प्रोत्साहित भएको बताइन् ।

तर, अझै १५ देखि ४९ वर्ष उमेर समूहका धेरै महिलाले गर्भनिरोधक साधन छनोटमा निर्णय लिन नसक्ने, किशोरीहरुले शारीरिक वा यौनहिंसा र बालविवाहजस्तो समस्या भने संसारभरकै उच्च रहनु दुःखद् भएको बताइन् ।

कार्यकारी निर्देशक डा. कनेमले युएनएफपीएले सन् २०३० सम्ममा गर्भनिरोधका साधन तथा परिवार योजनाको अपरिपूर्त आवश्यकतालाई शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युलाई शून्यमा झार्ने र लैंगिक हिंसा तथा बालविवाहलाई शून्यमा झार्ने लक्ष्य लिएको जानकारी दिइन् ।

यी लक्ष्य पूरा गर्न नेपाल सरकारलाई थप सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।