
प्रकाश सिलवाल (रासस)
काठमाडौं, कात्तिक २ । जन्मँदै दुवै अन्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसंग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् ।
चिकित्सक डा. दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्–‘बाबुको दुवै अन्डकोष अहिले बाहिर देखिन्छ । उपचार सफल भएकामा म खुसी छु ।’
भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मूत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, आन्द्रामा रौं छिरेको र नसामा हुने विभिन्न जटिल समस्याको उपचार सहज भने छैन । शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्नु चुनौतीपूर्ण हुन्छ ।
सन् २०१७ मा बंगलादेशको बंगबन्धु शेख मोजिम मेडिकल विश्वविद्यालयबाट बालरोग सर्जरीमा एमएस गरेका डा. कोइरालाकामा हाल यस्ता बिरामी बच्चाको चाप देखिन्छ ।
उनी शिक्षण अस्पतालका साथै काठमाडौं न्यूरो तथा जनरल अस्पताल र हेम्स अस्पतालमासमेत ‘कन्सल्ट्यान्ट’ छन् ।
उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा चिकित्सक टोली तम्तयार भएपनि जन्मजात छाती जोडिएका जुम्ल्याहा बच्चाको सुर्खेतबाट काठमाडौं ल्याउँदा बाटोमै मृत्यु भएको ६ महिनाअघिको एक घटना सम्झँदै डा. कोइराला भन्छन्–‘नेपालमा सुलभ मूल्यमै यस्तो उपचार हुनसक्छ भन्ने थाहा नपाएर अभिभावकले बच्चालाई अस्पताल नल्याउँदा ज्यान जोखिममा परेका घटना छन् । तर, हामी उपचार गर्नसक्छौं ।’
चिकित्सक डा. कोइरालाकै नेतृत्वमा जन्मँदै मेरुदन्डको नसा फुटेका ओखलढुंगाका मेघबहादुर मगरका चार दिनका बालकको शल्यक्रिया सफल भएपछि अभिभावक दंग छन् ।
‘माइलोमेनिंगोसिल इन्फेक्सन’का कारण उत्पन्न यो समस्याको समाधान भएपछि अब बच्चालाई दूध खुवाउन र दिसा–पिसाब गराउन कुनै समस्या छैन ।
सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा उपचाररत् १५ वर्षीया बालिकाको जन्मजात पिसाब चुहिने समस्या (इक्टोपिक युरेटर)को पनि सात दिनअघि शल्यक्रिया सफल भएको छ ।
सात दिनअघि ती बालिकाको पिसाबको नली काटेर पुनः व्यवस्थापन गरिएको थियो ।
सोही अस्पतालमा दोलखाका सोमी तामाङका २१ दिनका छोराको एउटा अन्डकोष ठूलो भएको (अब्स्ट्रक्टेड हर्निया)को शल्यक्रिया सफल भएको छ । ती बालकको जन्मँदै एउटा अन्डकोष ठूलो थियो ।
चिसोले होला भनेर अभिभावकले बढी सेकेपछि नीलो भएर दुख्ने समस्याले अस्पताल ल्याइएको थियो ।
‘एनस्थेसिस्ट’ डा. कोइरालालाई ती बच्चालाई बेहोस बनाउन निकै गाह्रो भएको थियो । ढिलो ल्याएको भए बच्चालाई जोखिम हुनसक्थ्यो ।
केही समयपहिले दुर्घटनामा परी मलद्वार थुनिएका सर्लाहीका १० वर्षीया अर्चनाकुमारीको पनि सफल शल्यक्रिया गरेका चिकित्सक कोइरालाले जन्मँदै आन्द्रा फुटेका चार बच्चाको शल्यक्रियाबारे विश्वका अन्य मुलुकका बालसर्जनले पनि चासो दिएका छन् ।
डा. कोइराला आउँदो अक्टोबार ३१ मा कतारको दोहामा हुने विश्व बालसर्जन सम्मेलनमा उक्त विषयमा कार्यपत्र प्रस्तुतिको तयारीमा छन् ।
अर्चनालाई नेपालमा उपचार गराउनुअघि भारतको पीजीआइ अस्पताल, गंगाराम अस्पताललगायत पाँच अस्पतालमा लगिएको थियो ।
भारतमा करिब रु पाँच लाख खर्च गरेर नभएको उनको उपचार नेपालमा रु ७५ हजारमा सम्भव भएको थियो ।
प्रतिक्रिया दिनुहोस्