-टेकराज अवस्थी/ईमेज
डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ मानिने डडेल्धुराको उग्रतारा मन्दिरको गुरुयोजना बजेटको अभावमा अलपत्र बनेको छ ।
मन्दिर परिसरमा भौतिक पूर्वाधारसहितका महत्वपूर्ण कामहरु गर्ने गुरुयोजना बने पनि स्थानीय सरकारको उदासीनता र बजेटको अभावमा काम अलमलमा परेको हो ।
डडेलधुरास्थित उग्रतारा मन्दिर परिसरमा वेदविद्या आश्रम, गौशाला, विवाह तथा पूजा मण्डप धर्मशालालगायतका संचरना निर्माण गरी यस क्षेत्रलाई व्यवस्थित बनाउने योजना थियो ।
तर आवश्यक बजेट नहुँदा काम हुन नसकेको उग्रतारा क्षेत्र विकास समितीले जनाएको छ ।
अहिलेसमम्म १०८ भागवत पुजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब तिन सय जना अटाउने प्रवचन हल ,ऐतिहांसिक नौला जाने बाटो तथा पिकनिकका लागि जस्ताले छाएका तीनवटा घर बनेका छन् ।
तर खुल्ला चरिचरन बन्द गरी मन्दिर परिसरको संरक्षण र गुठी मन्दिरको नाममा गर्नुपर्ने जस्ता महत्वपूर्ण कामहरु अलपत्र रहेको समितिका अध्यक्ष तेज बहादुर सार्कीको भनाइ छ ।
६ लाखको अक्षय कोष स्थापनासहित मन्दिर परिसरमा नौ वटा सोलार बत्ति जडान गरिएको छ ।
कार्ययोजना तर्जुमा भए पनि पर्यटन मन्त्रालयबाट प्राप्त अनुदान अमरगढी नगरपालिकाले फ्रिज गरिदिएपछि गुरुयोजना पनि प्रभावित भएको उग्रतारा क्षेत्र विकास समितिका कोषाध्यक्ष श्यामराज ओझाको भनाइ छ ।
उग्रतारा भगवती मन्दिरमा सुदुरपश्चिम प्रदेश तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत मनोकांक्षा पूरा हुने विश्वासमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
धार्मिक तथा साँस्कृतिक पर्यटकीय दृष्टिले महत्वपूर्ण यस क्षेत्रको पूर्वाधार निर्माणमा चासो दिएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने स्थानीय बताउँछन् ।
आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गर्न योजनाबद्ध पूर्वाधार विकास निर्माण गर्न सके करिब ५ सय रोपनी जग्गाजमिन रहेको उग्रतारा क्षेत्र सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध तथा आकर्षक पर्यटन गन्तव्य बन्नसक्ने संभावना छ ।
प्रतिक्रिया दिनुहोस्