काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज १० बजेदेखि हुँदैछ । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको छ।
विद्युतीय प्रक्रियाबाट बुधबार साँझ करिब साढे ८ बजे सुरु भएको मतदान करिब आधा घन्टा चलेपछि मेसिनमा आएको खराबीका कारण स्थगित भएको थियो ।
स्थगित मतदान बिहीबार बिहान साढे १० बजे देखि दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । विहीबार हुने मतदान भने विद्युतीय मेसिनबाट नभइ कागजी प्रक्रियाबाटै हुने पनि समितिले जनाएको छ ।
मतदान ढिला सुरु भएको अनि मेसिन विग्रिएको जानकारी पाएपछि बुधबार साँझ सम्मेलन स्थलमा नाराबासी र तोडफोड भएको थियो ।
सम्मेलनमा जम्मा २ हजार ६ सय ५६ जना प्रतिनिधि सहभागी छन् । विश्वका विभिन्न ८१ देशबाट एनआरएनए प्रतिनिधिको उपस्थिति रहेको छ ।
सम्मेलन स्थलमा नाराबाजी भएपछि बुधबार देखि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रतिनिधिहरुले विरोध गर्नसक्ने भन्दै आज पनि सम्मेलन स्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । एनआरएनएको विश्व सम्मेलन मंगलबारबाट काठमाडौंमा सुरु भएको हो।
निर्वाचनमा ४२ जना पदाधिकारीका लागि ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्