Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन मिल्दैन’


0
Shares

काठमाडौं, असोज २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडबाडका अवसरमा आयोजना हुने चियापान कार्यक्रमले पार्टीहरुलाई एक ठाउँमा ल्याउन सहयोग पुर्‍याउने बताएका छन् ।

बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले सबै दल मिलेर राष्ट्रिय आवश्यकतालाई पूरा गर्न अब ढिलासुस्ती गर्न नहुने बताए ।

संविधानले व्यवस्था गरेअनुरुप सभामुखको चयन हुनुपर्छ : पौडेल 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने भन्दै संविधानले व्यवस्था गरेअनुरुप सभामुख र उपसभामुखको चयन हुनुपर्ने बताए ।

उनले त्यसो नभए सदन र सडक दुवै ठाउँबाट कांग्रेसले विरोध गर्ने चेतावनीसमेत दिए ।

विधिको शासनअनुरुप सरकार चल्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले यस्ता कार्यक्रमहरुले दलहरुबीचको दूरी कम गर्ने विश्वास व्यक्त गरे ।

चियापन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।