३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान


0
Shares

काठमाडौं, असोज २८ । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्तराज्य अमेरिकाको वासिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको छ ।

उनले संघीयता कार्यान्वयनकोक्रममा नेपालले हासिल गरेका अनुभवको आदान–प्रदान गर्ने कार्यक्रममासमेत सहभागिता जनाउनेछन् ।

साथै, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

नेपाललाई सहयोग गरिरहेका अन्य दातृमुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री डा. खतिवडाले गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिमन्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी हुनेछन् ।

अर्थमन्त्री डा. खतिवडा कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस