काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेकी छन् ।
एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले एनआरएनएले विश्वमा नै सद्भावनादूतकारुपमा रहेर काम गर्नसक्ने भन्दै नेपालको आर्थिक विकासको साझेदार बन्न आग्रह गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले एनआरएनएले पुँजी र प्रविधि नेपालको आर्थिक विकासमा लगाउन आह्वान गरिन् ।
उनलेले भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि सहयोग गर्न एनआरएनएलाई आग्रह गरिन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको चाहना पूरा गर्न एनआरएनएको आवश्यकता पर्ने भएकाले सरकार उनीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।
एनआरएनएले नेपालको हरेक दुःखमा साथ दिएको भन्दै उनले समृद्धिको यात्रामा ज्ञान र प्रविधिमार्फत् पनि साथ रहने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष भवन भट्टले ज्ञान, सीप, पुँजी, प्रविधि र लगानी भित्र्याउन संघले पहल गर्दै आएको र गरिरहने बताए ।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारा रहेको सम्मेलनले नयाँ नेतृत्व छान्नेछ ।
तीनदिने सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि एवं अरु स्वदेशी–विदेशी गरी करिब दुई हजार ५०० को सहभागिता रहेको छ ।
यो वर्षको विश्व सम्मेलन पनि विगतमाझैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको छ ।
प्रतिक्रिया दिनुहोस्