२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


पत्रकारहरुसँग प्रधानमन्त्री आक्रोशित, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन्’


0
Shares

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा उनले नेपालका पत्रकारहरुमा दम्भ र अहंकार बढ्दै गइरहेको भन्दै पत्रकारहरुले जन्म दिने आमाबाबुलाई समेत तपाईं भन्दैनन् भन्ने आरोप लगाएका हुन् ।

उनले पत्रकारले सम्मानपूर्ण व्यवहार गर्न छाडेको टिप्पणी गरे । पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको आरोप उनको छ ।

सञ्चारमाध्यममा प्रयोग भएका भाषाप्रति असन्तुष्ट प्रधानमन्त्री ओलीले भाषा र संस्कृति नबिर्सन सचेत गराए । सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उनले कटाक्ष गरे ।

उनले भने,‘सभ्यताका पर्खालहरू बागमतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् । तिमीभन्दा माथि उठेर । यो एउटा ट्रेन हो । किनभने अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईं भन्न गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरू ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठूलालाई तपाईं भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

कार्यक्रममा उनले नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भए पनि अझै पनि थिति नबस्दा ‘धङधगीहरू’ कायमै रहेको टिप्पणी गरे ।