युके भेरियन्टको एक कोरोना संक्रमितले ७० जनासम्मलाई संक्रमण सार्न सक्ने खतरा • Image Khabar Image Khabar


युके भेरियन्टको एक कोरोना संक्रमितले ७० जनासम्मलाई संक्रमण सार्न सक्ने खतरा


Border circle
Imagekhabar

युके भेरियन्टको एक कोरोना संक्रमितले ७० जनासम्मलाई संक्रमण सार्न सक्ने खतरा

काठमाडौं, बैशाख ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोरोना (कोभिड–१९) संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको भन्दै मन्त्रालयले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

उहाँका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष आवश्यक पर्ने बताउनुभयो । सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

केही दिनयता काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको उहाँको भनाई छ ।

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको उहाँले बताउनुभयो ।

जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताउनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्