२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक भारतमा


0
Shares

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

यसअघि गत माघ ९ र १० मा पोखरामा सम्पन्न समितिको बैठक आजदेखि भारतमा हुन लागेको हो ।

बैठकलाई नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्नेछन् ।

बैठकको मुख्य प्राथमिकतामा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङ रहेको छ ।

बैठकमा भारतसँग विभिन्न ऊर्जासम्बद्ध एजेन्डामा छलफल र सहमतिको प्रयास हुनेछ । न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी यही बैठकमा टुंग्याउने प्रयत्न हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

यो प्रसारणलाइन निर्माण गर्न दुवै देश सहमत भए पनि कसले कुन मोडलमा लगानी गर्ने भन्ने टुंगिएको छैन ।

यो विषय नटुंगाएसम्म अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज अन्तरगतको ४ सय केभी लाइनको काम अघि बढ्न नसक्ने भएकाले नेपालले यो बैठकमा सहमतिका लागि अधिकतम प्रयास गर्नेछ ।

यस्तै भारतमा बस्ने सातौं बैठकमा इनर्जी बैंकिङको कार्यान्वयनको तयारीबारे पनि छलफल हुनेछ । यसका लागि इनर्जी बैंकिङको मस्यौदामा सहमति जुटिसकेको छ । 

नेपालमा वर्षयाममा बढी भएको विजुली भारत पठाएर त्यसको सट्टामा हिउँदमा विजुली ल्याउने गरी इनर्जी बैंकिङ गर्न दुबै देश तयार भइसकेका छन् ।