
काठमाडौं । सबै सम्पत्ति जालसाजीपूर्वक हात पारेर ८४ वर्षीया सासू शोभा रिजाललाई बेवास्ता गर्ने कमलप्रसाद रेग्मी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । यसअघि उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई पनि अदालतको आदेशमा जेल पठाइएको छ । दुवैलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।
प्रहरीले सुष्मालाई गत २३ चैतमा पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले कमलप्रसादलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए । ‘छोरी सुष्मालाई यसअघि नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । ज्वाइँ कमलप्रसादलाई पनि आइतबार जेल चलान गरिएको छ । ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको अभियोग उनीहरूमाथि छ,’ उनले भने । जेल चलान गरिएको कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । सुष्मा नेपाल राष्ट्र बैंककी निर्देशक हुन् ।
सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेपछि आमा शोभाले छोरी सुष्मा र ज्वाइँ कमलप्रसादविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् ।
भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुनचाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । सो रकम छोरी सुष्माले जालसाजीपूर्वक झिकेकी थिइन् । त्यसबाहेक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि कमलप्रसादले झुक्याएर झिकेका थिए । शोभाको नाममा त्यसबाहेक पनि विभिन्न कम्पनीमा सेयर थियो । त्यो पनि सुष्मा र कमलप्रसादले अनधिकृत रूपमा झिकेका थिए ।
प्रतिक्रिया दिनुहोस्