
काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकाक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करिब पाँच घन्टा अवरुद्ध हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार एक नोटम (नोटिस टु एअरमेन) जारी गर्दै राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने जनाएको हो ।
विमानस्थलकाअनुसार शनिबार साढे दुई घन्टा र आइतबार साढे दुई घन्टा गरी जम्मा पाँच घन्टा विमानस्थलको उडान प्रभावित हुनेछ ।
शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ ।
सो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुनेछन् ।
अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ ।
प्रभावित उडानको व्यवस्थापनका लागि उक्त उडानका दिनमा विमानस्थल २४सै घन्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
संशोधित उडान तालिका र ‘चेकइन’ समयको जानकारी सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिनेछ ।
साथै, संशोधिन अन्तर्राष्ट्रिय उडान तालिका विमानस्थल कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्