काठमाडौं, असोज २३ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौंका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ ।
भ्रमणलाई लक्षित गरेर झन्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कुनैपनि सडकमा खाल्डाखुल्डी बाँकी नराख्न दिएको निर्देशनका आधारमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री महासेठले बिहीबार राजधानीका विभिन्न स्थानका सडकको अनुगमन गर्दै सडक सुधारका लागि निर्देशन दिएका थिए ।
८ मिटरभन्दा बढी चौडाइका सडक मन्त्रालयअन्तर्गत्का निकायले सुधारको काम गरिरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए ।
त्योभन्दा कम चौडाइमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले काम गरिरहेका छन् ।
उनले भने–‘मन्त्रालय र महानगर मिलेर मुख्य सडकमा कतै पनि खाल्डा बाँकी नराख्न लागिएको छ ।’
मन्त्रालयले हेर्ने सडक निर्माण सडक विभाग र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेका छन् ।
दसैं–तिहारका समयमा वर्षेनि सडक सुधारका काम गरिँदै आएको भएपनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको प्रवक्ता ज्ञवालीले बताए ।
माइतीघरदेखि तीनकुने सडकमा पर्ने बिजुलीबजार र तीनकुने पुल सम्पन्न भइसकेका छैनन् । यी दुई पुलमा भने सरकारले फोटो टाँसेको देख्न सकिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्