
प्रतीक्षा खनाल/राजेन्द्र नापित (इमेज)
काठमाडौं, साउन ९ । देशका अधिकांश भू–भागमा समयमै धान रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादन बढ्ने कृषिविद्हरुको अनुमान छ ।
साउन पहिलो सातासम्म आइपुग्दा देशका धेरै भू–भागमा धान रोपाइँ सकिएको छ ।
कृषि विभागकाअनुसार हालसम्म ७८ प्रतिशत रोपाइँ सकिएको छ । अघिल्लो वर्ष यसै समयसम्म ६८ प्रतिशतमात्रै रोपाइँ भएको थियो ।
जेठको अन्तिम सातादेखि सुरु गरिने रोपाइँ साउनको अन्तिमसम्म गर्ने गरिन्छ ।
गत वर्ष करिब ५१ लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको बताउँदै कृषि विभागका सूचना अधिकारी डा. रामकृष्ण श्रेष्ठले उत्पादन बढाउन विभिन्न पक्षमा सुधार गर्नसकिने बताए ।
देशभर १०० भन्दा बढी जातका धान लगाउने गरिन्छ । तीमध्ये राधा ४, सावित्री, मकवानपुर, सोना मन्सुली, सावा मन्सुलीलगायतका धानका बीउ कृषकमाझ चर्चित भएको डा. श्रेष्ठले जानकारी दिए ।
सिँचाइ, मल र बीउ–विजनको पर्याप्त सुविधा कृषकलाई उपलब्ध गराउनसके विदेशबाट अहिले आयात हुने गरेको ७ प्रतिशतको परिमाणलाई पनि नियन्त्रण गर्नसकिने सरकारी अधिकारीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्