१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मनकामना केबलकार तीन दिन बन्द


0
Shares

मुग्लिन, असोज २१ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सन्चालनमा ल्याएको मनकामना केबलकार सेवा सोमबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ ।

नेपालीको महान् पर्व बडादसैंको समयमा हरेक वर्ष तीन दिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा सोमबारदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए ।

असोज २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सन्चालनमा आउने  पनि उनले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटार, चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेसन) रहेको छ । उक्त केबलकार स्टेसनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैं भीड नै लाग्ने गर्दछ ।

दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्री र तीनओटाले सामग्री तथा खसी–बोका बोक्ने गरेको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औसतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ । रासस