
गलेश्वर, असोज २० । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखन्डको स्थलगत निरीक्षणकाक्रममा सो नाका छिटोभन्दा छिटो खुल्नेगरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिइन् ।
सभापति खड्काले पुलको डिजाइनसमेत नभएका कारण सरकार कोरला नाका खुलाउन गम्भीर नभएको हो कि भन्ने आशंका बढेको बताइन् ।
समितिले सो नाकासँग जोडिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखन्ड निर्माणकार्य पनि अतिसुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न पनि सरकारलाई निर्देश गरेको छ ।
त्यसैगरी सो सडकखन्ड निर्माणका लागि विस्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणकाक्रममा समितिका सभापति खड्काले बताइन् ।
राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ रहेको छ ।
संसदीय समितिले सो सडकखन्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको कामसमेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ ।
समितिले एक हप्ताअघि बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्