Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


शक्तिपीठहरूमा दर्शनार्थीको भीड


0
Shares

काठमाडौं, असोज १९ । नेपालीहरूको महान् चाड बडादसैंअन्तर्गत् आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।

शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरूमा दुर्गादेवीको पूजा–आराधना भइरहेको विभिन्न जिल्लाबाट रासस समाचारदाताहरुले जनाएका छन् ।

संघीय राजधानी काठमाडौंस्थित गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, विजेश्वरी, इद्रायणी, नरदेवी, वज्रबाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठहरूमा बलि चढाउने र पूजा–आराधना गर्नेहरूको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकानजिकै अवस्थित दक्षिणकाली, काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चन्डेश्वरी, गोरखाको गोरखकाली र मनकामना, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, वीरगन्जको गहवामाई, बाराको गढीमाई, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, बाग्लुङको कालीका भगवती, धरानको दन्तकाली, डडेलधुराको उग्रतारा, भोजपुरको सिद्धकाली, बाँकेको बागेश्वरी, ताप्लेजुङको पाथीभरा मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।

रासस समाचारदाताहरूकाअनुसार ती शक्तिपीठमा चन्डीपाठसहित देवीको उपसना भइरहेको छ । रासस