२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


इलाम खसीको मासुमा आत्मनिर्भर


13
Shares

इलाम, असोज १९ । इलाम खसीको मासुमा आत्मनिर्भर रहेको पाइएको छ ।

चाडवाडमा खसी–कुखुराको माग बढेको भएपनि जिल्लामा खसी–बोका भने खपत भइनसकेर तराई र राजधानीसम्म निकासी हुने गरेको छ ।

देउमाइ र इलाम नगरपालिकामा साप्ताहिकरुपमा लाग्ने हाटबजारबाट गाडीमा खसी–बोका र बाख्रा निकासी हुने गरेको हो ।

हप्तामा पाँच गाडी खसी–बोका तराई हुँदै राजधानी काठमाडौंसम्म पुर्‍याउने गरेको व्यवसायीहरुको भनाइ छ ।

केही बाख्रा भारत पनि निर्यात हुने गरेको पाइन्छ ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय इलामकाअनुसार मासुमा इलाम जिल्ला आत्मनिर्भर रहेको छ ।

खसी–बोकाको मासु चार हजार ६२३ मेट्रिकटन वार्षिक उत्पादन हुने गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा स्थानीय र उन्नत जातका गरी दुई लाख ३५ हजार ५०० संख्यामा बाख्रा रहेको पाइएको छ ।

व्यापारीहरुले किसानका घरघरमा पुगेर खसी–बोका संकलन गरी बजारमा पुर्‍याउने गरेका छन् । खसी–बोकाको माग वृद्धि भएपनि मूल्य स्थीर रहेको किसानहरुको भनाइ छ ।